बयालपाटा अस्पतालमा नयाँ एम्बुलेन्स संचालन, स्वास्थ्य बिमा गरेकालाई १० प्रतिशत छुट

   View More
    February 12, 2020

पूर्णबहादुर खड्का, माघ २६ अछाम – न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले नयाँ एम्बुलेन्स प्रयोगमा ल्याएको छ । अन्तराष्टिय सहयोगी संस्था रोज बर्ड फाउण्डेशनको आर्थिक सहयोगमा एम्बुलेस प्राप्त भएपछि संचालनमा ल्याईएको अस्पतालका सिनियर संचालन तथा खरिद विभाग प्रमुख तिलकमान बोहराले बताउनु भयो ।

कर छुट सहित १० लाख बराबर पर्ने चालक सहित ४ सिट क्षमता भएको टाटा कम्पनीको एम्बुलेन्स सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरी संचालनमा ल्याईएको हो ।

प्रमुख बोहराका अनुसार बयालपाटा अस्पतालमा यस अघि संचालनमा रहेको एम्बुलेन्स धेरै पुरानो भईसकेकाले नयाँ एम्बुलेन्सका लागि सहयोग माग गरेपछि रोज बर्ड फाउण्डेशनको आर्थिक सहयोग मार्फत नयाँ एम्बुलेन्स संचालनमा आएको हो ।

पुरानो एम्बुलेन्स जिल्लाको दुर्गम ठाँउमा जान नसक्ने, पटक पटक बिग्रीने समस्या भएकाले पनि नयाँ एम्बुलेन्सको आवश्यक्ता भएको र अब बिरामीलाई पनि सेवा लिन सहज हुने प्रमुख बोहराको भनाई छ ।

बिगत झैँ नयाँ एम्बुलेन्स पनि सशुल्क रुपमा संचालन गरिने न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो । उहाँका अनुसार एम्बुलेन्सको लागि लाग्ने खर्च, चालक लगायतका खर्च आन्तरिक रुपमा न्याय हेल्थ नेपालले नै व्यहोर्ने छ ।

जिल्लामा एम्बुलेन्सको संख्या कमै मात्रामा भएको र दुर्गम ठाँउमा सबै एम्बुलेन्स पुग्न नसक्ने अवस्थामा बिरामीको आवश्यक्तालाई मध्यनगर गर्दै नयाँ एम्बुलेन्स संचालनमा ल्याईएको बयालपाटा अस्पतालले जनाएको छ ।

एम्बुलेन्स सेवामा जेष्ठ नागरिक, महिला स्वयम सेविका तथा स्वास्थ्य बिमामा बिमित भएका बिरामीहरुलाई शुल्कमा १० प्रतिशत सौलियत छुट प्रदान गरिएको अस्पतालले जनाएको छ ।